Monday 6 June 2011

मलेसियामा ‘कहाँ भेटिएला’को प्रर्दशन

विश्वकै आर्कषण रहेको टुईन टावर अर्थात केएलसिसिको सिनेमा घरमा नेपाली कथानक चलचित्र प्रर्दशन हुने भएको छ । नेपाल म्युजिक सेण्टरको पहलमा नेपाली कथानक चलचित्र ‘कहाँ भेटिएला’ यही जुलाईको तीन तारिखका दिन प्रर्दशन हुन थालेको हो ।
चलचित्र प्रर्दशनको लागि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का जुन २९ तारिखका दिन मलेसिया आउने भएका छन् । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय वजारमा पुर्‍याउनका लागि ‘कहाँ भेटिएला’को प्रर्दशन गर्न थालिएको आयोजक मध्येका एक ग्यासेन लामाले नेपाली खवरलाई बताए । मलेसियामा नेपाली चलचित्र हलमा प्रर्दशन हुन लागेको यो पहिलो पटक हो ।
अत्यन्तै महँगो र विश्वकै ध्यान तानिएको केएलसिसिको हलमा चलचित्र देखाउँदा नेपाली चलचित्रको विश्व वजारमा राम्रो प्रभाव रहने भएकाले पनि उक्त स्थान रोजिएको लामाको भनाई छ ।
दुई सय ५३ सिट क्षमता रहेको टिजीभिको चार नम्वर हलमा प्रर्दशन हुने चलचित्रलाई मलेसियामा रहेका नेपालीले उत्साह र उत्सुकताका साथ लिइरहेका छन् । शिव रेग्मीको कथा र निर्देशन रहेको ‘कहाँ भेटिएला’लाई नायक श्रीकृण श्रेष्ठले निमार्ण गरेका हुन ।
नेपालमा ५१ दिन मनाउन सफल यो चलचित्र मलेसियामा पनि सफल प्रर्दशन हुनेमा धेरैले विश्वास लिएका छन । चलचित्रमा ‘रुपै खोज्ने आखाँहरू धेरै धेरै आउँछन, मन खोज्ने मायालुलाई कहाँ भेटिएला’ भन्ने शीर्ष गीत निकै चर्चित रहेको छ ।
चलचित्र प्रर्दशनलाई अफिसियल मिडिया वनेर नेपाली खवर साप्ताहिकले सघाएको छ । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ,स्वेता खडका,निरुता सिहं, निर शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

No comments:

Post a Comment